जनकपुरधाम उपमहानगरपालिकाको प्रेस विज्ञप्ति : ई-रिक्सा संचालनमा रोक होइन, व्यवस्थापन मात्र

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २ गते । जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा संचालनसम्बन्धी जारी गतिरोध र सामाजिक सञ्जालमा उठेका टिका-टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । मिति २०८२/०९/०२ गते जारी विज्ञप्तिमा नगरपालिकाले नगर क्षेत्रमा ई-रिक्सा संचालनमा रोक नलगाएको, केवल सुव्यवस्थित गर्न खोजिएको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार विगतमा ई-रिक्साका कारण सडक अस्तव्यस्त भएको, दुर्घटना बढेको, चालकहरूबाट दुर्व्यवहार, अधिक भाडा असुली, एम्बुलेन्स तथा औषधि बोकेका सवारीमा बाधा, जथाभावी पार्किङ र पैदल यात्रीलाई कठिनाइ भएको गुनासो पटक-पटक आएको थियो । पर्यटक, राष्ट्रसेवक र आमनागरिकको ध्यानाकर्षणलाई सम्बोधन गर्न मिति २०८२ असार १३ गते सर्वपक्षीय बैठक बसेर “दर्ता नभएका ई-रिक्सालाई परिक्रमा सडकभित्र प्रवेश निषेध गर्ने र प्रवेश गर्नेलाई जरिबाना गर्ने” निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार टाँगा, अटो, ई-रिक्साको कर निर्धारण, दर्ता र नियमनको अधिकार स्थानीय तहमा रहेको र सोहीअनुसार ‘विद्युतीय रिक्सा दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि २०७९’ जारी गरी दर्ता प्रक्रिया सुरु गरिसकेको नगरपालिकाले जनाएको छ ।

“जनकपुरधामलाई सफा, सुन्दर र व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो । ई-रिक्सा संचालनलाई मर्यादित बनाउन चालकहरू र सम्पूर्ण नगरवासीको साथ-सहयोग अपेक्षा गरेका छौं,” विज्ञप्तिमा भनिएको छ । यो विज्ञप्तिले जारी तनाव कम गर्ने र व्यवस्थित यातायातका लागि सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?