मधेसका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलद्वारा पदभार ग्रहण, युवालाई प्राथमिकता

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २ गते ।  मधेस प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री पटेलले मधेसका युवालाई लक्षित कार्यक्रम ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहने बताए । जेनजी आन्दोलनको भावना र आवश्यकतालाई बुझ्दै युवाले सुरु गर्ने व्यवसायमा विशेष छुटको व्यवस्था गर्ने र युवा उद्यमीलाई पुरस्कृत गर्ने योजना रहेको उनको भनाइ छ । साथै, सङ्घ सरकारसँग समन्वय गरी धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि योजना अगाडि बढाइने उनले बताए ।

मधेस प्रदेशको समग्र विकासका लागि उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रसँग सम्बन्धित चालु योजनालाई तीव्रताका साथ कार्यान्वयन गर्ने मन्त्री पटेलले स्पष्ट पारे । चालु आर्थिक वर्षभित्रै अधिकांश योजना सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए । उल्लेखनीय छ, गत मङ्सिर २१ गते कृष्ण यादवले मुख्यमन्त्रीको शपथ लिँदा पटेल विना विभागीय मन्त्री बनेका थिए । पछि मन्त्रिपरिषद् विस्तारसँगै उनलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?