‘दंगल’ की अभिनेत्री जायरा वसीम नीतिश कुमारप्रति आक्रोशित, हिजाब तानिएको घटनामा माफी माग

3 महीना पहिले प्रकाशित

एजेन्सी, पुष १ गते । फिल्म ‘दंगल’मा अभिनय गरेकी अभिनेत्री जायरा वसीमले बिहारका मुख्यमन्त्री नीतिश कुमारप्रति कडा असन्तोष व्यक्त गरेकी छन् । हालै पटना आयोजित एक कार्यक्रममा आयुष चिकित्सकहरूलाई नियुक्तिपत्र प्रदान गर्ने क्रममा मुख्यमन्त्री कुमारले एक महिला चिकित्सकको हिजाब तानेको घटनापछि विवाद चर्किएको छ । यस घटनालाई लिएर जायरा वसीमले सार्वजनिक रूपमा नीतिश कुमारसँग माफी माग्न आग्रह गरेकी हुन् ।

जायराले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत प्रतिक्रिया जनाउँदै महिलाको गरिमा र मर्यादामाथि यसरी हस्तक्षेप गर्नु अस्वीकार्य भएको बताइन् । एक मुस्लिम महिलाका रूपमा अर्को महिलाको हिजाब सार्वजनिक मञ्चमै लापरवाहीपूर्वक तानिनु र त्यसप्रति देखिएको बेपरवाह व्यवहार अत्यन्तै आपत्तिजनक भएको उनको भनाइ छ । सत्ता र पदले कसैलाई सीमाना नाघ्ने अधिकार नदिने उल्लेख गर्दै उनले नीतिश कुमारले सम्बन्धित महिला चिकित्सकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

उक्त घटनापछि विपक्षी दलहरूले पनि मुख्यमन्त्री कुमारको आलोचना गरेका छन् भने कांग्रेसले त उनको राजीनामासमेत माग गरेको छ । स्मरणीय छ, जायरा वसीमले सन् २०१९ मा अभिनय क्षेत्र छाडेकी भए पनि सामाजिक र मानवीय मुद्दामा आफ्नो धारणा निरन्तर सार्वजनिक गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?