२ सय र ५ सय दरका भारतीय नोट नेपालमा चलनचल्तीमा ल्याइयो
1 दिन पहिले प्रकाशित
काठमाडौं, पुष १ गते । सरकारले सन् २०१६ नोभेम्बर ९ यता जारी भएका २ सय र ५ सय दरका भारतीय नोट नेपालमा राख्न, ओसारपसार गर्न तथा चलनचल्तीमा ल्याउन फुकुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयभन्दा ठूला दरका भारतीय नोट पनि नेपालमा प्रयोग गर्न दिने निर्णय गरेको हो। यसअनुसार नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म भारतीय मुद्रा नेपाल–भारत ओसारपसार गर्न सक्नेछन्।
सन् २०१६ मा भारतले ५ सय र १ हजार दरका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालमा सय रुपैयाँभन्दा माथिका भारतीय नोट चलनचल्तीमा थिएनन्। हालै भारत सरकारले नेपाल र भुटानका लागि प्रतिव्यक्ति २५ हजारसम्म २ सय र ५ सय दरका नोट ल्याउन–लैजान अनुमति दिएपछि नेपाल सरकारले पनि सोही अनुरूप निर्णय गरेको हो। अब सय, दुई सय र पाँच सय दरका भारतीय नोट चल्ने भए पनि सन् २०१६ नोभेम्बर ९ अघि जारी भएका नोट भने चल्ने छैनन्।
कमेन्ट गर्नुहोस्
view comments