प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ १४ दल सहभागी नहुने
1 दिन पहिले प्रकाशित
काठमाडौं, पुष १ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा सहभागिता नजनाउने भएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था भए पनि केही दलले प्रत्यक्ष निर्वाचनमा मात्र उम्मेदवारी दिने निर्णय गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टीलगायत १४ दल समानुपातिकतर्फ सहभागी नहुने सूचीमा छन् ।
आयोगले जनाएअनुसार कतिपय दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरेर समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दर्ता नगरेका हुन् । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा सहभागी हुन १०० राजनीतिक दल दर्ता भएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै प्रत्यक्षतर्फ भने ११४ राजनीतिक दल दर्ता भएको आयोगको तथ्याङ्क छ ।
कमेन्ट गर्नुहोस्
view comments