मधेश प्रदेशसभा सदस्य ललिता दासको स्कुटीलाई एम्बुलेन्सले ठक्कर दिएको आरोप : “अपहरण शैलीमा जनकपुर लगियो, ज्यान मार्ने नियत थियो”
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य तथा मधेश प्रदेशसभा सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएको र घाइते बनाएर अपहरण शैलीमा जनकपुर लगिएको गम्भीर आरोप लगाएकी छन् । मंसिर २२ गते महोत्तरीको चहका पुल नजिकै भएको दुर्घटनामा गम्भीर घाइते भएकी दासले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, “सायद ज्यानै लिने उद्देश्यले ठक्कर दिइयो । नजिकै लहानमा उपचार गराउनुपर्नेमा झण्डै १०० किलोमिटर टाढा जनकपुर लगियो ।”
दासका अनुसार दुर्घटनापछि एम्बुलेन्समा रहेका चार जनाले स्कुटीको डिक्की फोडेर ह्यान्डब्यागबाट करिब १ लाख ८५ हजार मूल्यको ‘विभो एक्स–२०० प्रो’ मोबाइल, दस आनाका दुई थान सुनका टप, घडी, नागरिकता लगायतका सामग्री लुटेका छन् । उनी जग्गा किनबेचको विषयमा कुरा गर्न सप्तरीको सुरुङ्गा–४ कदमाहा चोकतर्फ जाँदै थिइन् । फर्किने क्रममा दुर्घटना भएको थियो । “प्रहरीको ट्र्याकिङ नभएको भए बाटोमै ज्यान लिने योजना थियो कि भन्ने शंका छ,” उनले भनिन् ।
प्रहरीमा दर्ता उजुरीअनुसार प्रदेश २–०२–००१ च ०२२७ नम्बरको एम्बुलेन्स (चालक महोत्तरी बर्दिवास–१० का रामजनम राय यादव) ले प्र २–०३–०२१ प ०२९४ नम्बरको स्कुटीमा ठक्कर दिएको हो । दासले मंसिर २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा घाउजाँच केस फारमसहित चालक, एम्बुलेन्स मालिकलाई पक्राउ गरी अनुसन्धान, उपचार खर्च, स्कुटी मर्मत र लुटिएको सामानको क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता गराएकी छन् ।
एम्बुलेन्सको स्वामित्व रहेको जनकपुरको जानकी हेल्थकेयर एण्ड टिचिङ हस्पिटल पक्षले भने स्कुटी आफैं ठोक्किएको दाबी गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र रायले भने, “दुवै पक्षका आ-आफ्नै दाबी छन् । सबैलाई एकै ठाउँमा राखेर बुझेपछि मात्र यथार्थ खुल्नेछ ।” घटनाको अनुसन्धान जारी छ । यो आरोपले मधेशको राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments