राजपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन : नगर प्रमुख डा. राजिक आलमद्वारा विकासमा फड्को मारेको दाबी
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १ गते । रौतहटको राजपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन सोमबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख डा. राजिक आलमले आफ्नो तीन वर्षे कार्यकालमा नगरपालिकाले भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य र कृषिसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । “५४ हजार जनताको भावना, इच्छा र आकाङ्क्षाअनुसार विकास निर्माण अघि बढाएका छौं,” उहाँले भन्नुभयो ।
नगर प्रमुख आलमले निर्वाचित भएदेखि नगर अस्पताल, कृषि भवन, प्रशासनिक भवन, गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत बम नहर हुँदै नगरपालिकासम्म पुग्ने बाटो लगायतका पूर्वाधारमा फड्को मारेको उल्लेख गर्नुभयो । जग्गा खरिद, ट्रान्सफर्मर र विद्युत पोल जडानजस्ता कार्य पनि आफ्नो कार्यकालमा भएको बताउँदै उहाँले शिक्षा क्षेत्रमा सशर्त बजेटका कारण अपेक्षित सुधार नभएको गुनासो गर्नुभयो । “विकासका लागि सबै राजनीतिक दल र सरोकारवालासँग खुला छौं, सहकार्य गरेर अघि बढिरहेका छौं,” उहाँले जोड दिनुभयो ।
खानेपानी, स्वास्थ्यजस्ता क्षेत्रमा द्रुत गतिमा काम भइरहेको र उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गरिएको उहाँको भनाइ छ । “नमुना नगरपालिका बनाउने संकल्प पूरा गर्न कुनै कसर बाँकी राख्दैनौं,” नगर प्रमुख आलमले प्रतिबद्धता व्यक्त गर्नुभयो । यो भवन उद्घाटनले नगरपालिकाको प्रशासनिक सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments