रौतहट-सर्लाही जोड्ने बागमती पुल अलपत्र : मन्त्री घिसिङको निरीक्षण, चाँडै निर्माण सम्पन्न गर्ने आश्वासन
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २८ गते । रौतहट र सर्लाही जिल्ला जोड्ने बागमती नदीमाथिका दुई पुलहरू वर्षौंदेखि अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शुक्रबार साँझ स्थलगत निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका अगुवा विक्रम यादवको ध्यानाकर्षणपछि मन्त्री घिसिङले दुर्गाभगवती-रामनगर जोड्ने र हुलाकी राजमार्गअन्तर्गत बडहर्वास्थित दुवै पुलको निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा निर्माण प्रगति र स्थानीयले बेहोरिरहेको सास्तीबारे जानकारी लिनुका साथै छलफल पनि गर्नुभयो ।
मन्त्री घिसिङले पुल नबन्दा जनताले दैनिक बेहोरिरहेको कष्ट देखेर दुःख लागेको बताउँदै भन्नुभयो, “म मन्त्री पदमा रहँदा वा नरहँदा पनि यो पुल निर्माणका लागि आवाज उठाइरहनेछु ।” जेनजी अगुवा यादवले समयमा पुल नबन्दा दुवै जिल्लाका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो गर्दै तत्काल निर्माण सम्पन्न गराउन माग गर्नुभएको थियो । उहाँले रौतहट-सर्लाहीका नेताहरू यो विषयमा गम्भीर नरहेको दुःखेसो पोख्दै वर्तमान सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
दुर्गाभगवती गाउँपालिका (रौतहट) र रामनगर गाउँपालिका (सर्लाही) जोड्ने ७०० मिटर लामो पुलको ठेक्का २०७३ मा भएको थियो भने हुलाकी राजमार्गअन्तर्गत बडहर्वास्थित ६३४ मिटर लामो पुलको पहिलो ठेक्का २०६७ मा भएको थियो । निर्माण व्यवसायीले काम नगरेपछि पुरानो ठेक्का तोडेर २०७९ मा नयाँ ठेक्का लगाइएको हो । यी पुलहरू नबन्दा यात्रुहरू वर्षौंदेखि वैकल्पिक जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । मन्त्री घिसिङको निरीक्षणले निर्माण कार्यमा गति आउने स्थानीयको अपेक्षा छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments