वीरगञ्जको बिपी उद्यानबाट अव्यवस्थित पसल हटाइयो, ७० करोडमा हरियाली पार्क बनाउने योजना

11 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २८ गते ।वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँग जोडिएको बिपी उद्यानमा अतिक्रमण गरेर सञ्चालित अस्थायी पसलहरू हटाएको छ । मुख्य सहरको मुटुमा रहेको यो उद्यानलाई थप व्यवस्थित र हरियाली पार्क बनाउने उद्देश्यले महानगरले यो कदम चालेको हो । महानगर प्रमुख राजेशमान सिंहले अव्यवस्थित बजारका कारण उद्यानको सौन्दर्य बिग्रिएको भन्दै पसल हटाएर सुन्दर पार्क निर्माण गर्ने योजना अघि बढाइएको बताए ।

“अव्यवस्थित बजारलाई आज बिहान एक्स्काभेटर लगाएर हटाउने काम गरेका छौं । यहाँ व्यापार गर्दै आएकाहरूले सरसामान हटाइरहेका छन्,” प्रमुख सिंहले भने । उद्यानमा अस्थायी घरटहरा, तरकारी-फलफूल पसल, कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब २५० भन्दा बढी व्यापारीहरू थिए । महानगरले अब करिब ७० करोड रुपैयाँ खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने जनाएको छ । यहाँबाट हटाइएकाहरूलाई छपकैयाँस्थित रेल्वे सडकमा तयार गरिएको नयाँ संरचनामा स्थानान्तरण गरिने प्रमुख सिंहले जानकारी दिए ।

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको थियो । यो अभियानले वीरगञ्जको मुख्य चोकलाई थप व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?