मधेश प्रदेशमा महिला हिंसा झनै बढ्यो : ६ महिनामै १४१ घटना दर्ता, दाइजो मुख्य कारक
1 महीना पहिले प्रकाशित
जनकपुरधाम,मंसिर २४ गते । मधेश प्रदेशमा महिलामाथि हुने हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) मधेश प्रदेशले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत चैतदेखि भदौसम्म ६ महिनाको अवधिमा प्रदेशभर १४१ वटा महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । यीमध्ये सबैभन्दा धेरै ८४ वटा घरेलु हिंसा, २४ सामाजिक हिंसा, २० यौन हिंसा र १३ अन्य प्रकारका हिंसा रहेका छन् । पर्सा जिल्लाबाहेक बाँकी सात जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, सिरहा र सप्तरी) बाट प्रत्यक्ष उजुरी र पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा यो तथ्याङ्क तयार पारिएको हो ।
प्रतिवेदनले घरेलु हिंसाको सबैभन्दा ठूलो कारण दाइजो रहेको स्पष्ट पारेको छ । ओरेक मधेश प्रदेशकी संयोजक विणा कुमारी सिंहका अनुसार पछिल्लो ६ महिनामा कम्तीमा ८ वटा घटना दाइजोकै कारण प्रत्यक्ष रूपमा भएका छन् भने बाँकी अधिकांश घरेलु हिंसाको जरा पनि “दाइजो कम ल्याएको” वा “थप दाइजो माग” नै रहेको पाइएको छ । कम दाइजो ल्याएको भन्दै कुटपिट, निरन्तर मानसिक-शारीरिक यातना, छोरा नजन्माएको निहुँमा घरनिकाला गर्ने जस्ता समस्या अत्यधिक देखिएका छन् । प्रतिवेदनले कानुनले दाइजो लेनदेनमा पूर्ण प्रतिबन्ध लगाए पनि परिवार र समाजको मौन समर्थनले यो प्रथा अझै जरा गाडेर बसेको निष्कर्ष निकालेको छ ।
संस्थाले परम्परागत सोचमा परिवर्तन, दाइजोलाई सामाजिक रूपमै अस्वीकार्य बनाउने अभियान र दीर्घकालीन जागरण कार्यक्रमलाई तीव्रता दिन आग्रह गरेको छ । ओरेकले महिला हिंसा न्यूनीकरणका लागि स्थानीय तह, प्रदेश सरकार र नागरिक समाजसँग सहकार्य बढाउने योजना अघि सारेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments