उखु मूल्य बढे पनि महोत्तरीका किसान 'चित्तबुझाइ'; उद्योग चाँडै सञ्चालन हुने आशा
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २३ गते । सरकारले सोमबार प्रतिक्विन्टल ६९० रुपैयाँ दरले उखुको मूल्य र अनुदान निर्धारण गरेसँगै महोत्तरीका किसानले भने आफ्नो माग अनुसार मूल्य नबढेपनि गत वर्षभन्दा केही वृद्धिका कारण चित्त बुझाएका छन्। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानले खेतीका बढ्दो लागत र बजार मूल्यअनुसार ७५० रुपैयाँको माग गरेका थिए, तर सरकारले चिनी उद्योगको ६२० र सरकारको ७० अनुदान जोडेर ६९० रुपैयाँ निर्धारण गरेको हो। खुट्टी उखु चाँडै काटेर अर्को बाली समयमै लगाउनुपर्ने दबाबमा किसान अहिले उद्योग सञ्चालनको प्रतीक्षामा छन्।
जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रीजले मूल्य टुंगिएसँगै चाँडै क्रसिङ सुरु गर्ने तयारी गरेको जनाएको छ। उद्योगले मंसिरभित्रै डोला पूजा सम्पन्न गरी पुस पहिलो साता क्रसिङ खोल्ने योजना बनाएको छ, तर यो समयगत वर्षभन्दा ढिलो भएको किसानको गुनासो छ। महोत्तरीमा यस वर्ष ९,६०० बिघामा उखु खेती भएको छ, जसमा करिब पाँच हजार बिघामा खुट्टी र ४,६०० बिघामा मुडन रहेको कृषि संघका अध्यक्ष कुशवाहाले बताए। समयमै क्रसिङ नखुल्दा खेतबारी महिनौँ बाँझिन सक्ने चिन्ताले किसान उद्योग सञ्चालनका लागि सरकार र उद्योग व्यवस्थापनतर्फ हेर्दै बसेका छन्।
कमेन्ट गर्नुहोस्
view comments