मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका शक्तिपीठहरूमा पूजाअर्चना गर्नुभयो

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २३ गते ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहजिल्ला रौतहटका विभिन्न शक्तिपीठहरूमा पूजाअर्चना गर्नुभएको छ । आइतबार जनकपुरधाममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सोमबार रौतहट पुग्नुभएका मुख्यमन्त्री यादवले राजदेवी नगरपालिकास्थित राजदेवी मन्दिर र दुर्गाभगवती गाउँपालिका–३ मत्सरीस्थित दुर्गा मन्दिरमा पूजा गर्नुभएको हो ।

राजदेवी मन्दिरमा करिब १० मिनेट गर्भगृहमा रहेर पूजाअर्चना गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशको समुन्नति, भ्रष्टाचारमुक्त समाज निर्माण र मानव कल्याणको कामना गर्नुभएको थियो । मन्दिरका पुजारी मनोजकुमार मिश्रले उहाँलाई विधिवत् पूजा गराउनुभएको थियो । नेपाली कांग्रेस मधेश प्रदेश सूचना, सञ्चार तथा प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार मुख्यमन्त्री यादवले सोमबार नै दुर्गा मन्दिरमा पनि पूजाअर्चना गर्नुभयो ।

आइतबार साँझ रौतहट आइपुग्नुभएका मुख्यमन्त्री यादवले गरुडा, गढीमाई, दुर्गाभगवती, राजदेवी, गौर र कटहरिया क्षेत्रका जनतासँग स्थानीय समस्या, गुनासा र समाधानका उपायबारे छलफल गर्नुभएको थियो । उहाँले जनताको सुख-दुःखमा साथ रहने र मधेश प्रदेशको समग्र विकासमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?