लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ : गृहमन्त्री अर्याल

4 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर २२ गते ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर भएमा मानवअधिकारको सुनिश्चिततामा गम्भीर संकट उत्पन्न हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक-अर्काका परिपूरक रहेको उल्लेख गरे । उनले लोकतन्त्रलाई सुदृढ नबनाएसम्म मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव नहुने बताए ।

गृहमन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले नेपाल मानवअधिकारको विश्वव्यापी घोषणापत्रप्रति प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय समुदायसँग गरिएका प्रतिबद्धता पूरा गर्ने दिशामा अघि बढिरहेको स्पष्ट पारे । मानवअधिकारलाई सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड बताउँदै उनले नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?