जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २२ गते । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा मन्दिर परिसरमै विस्तृत छलफल भएको छ । मन्दिरको निरीक्षण तथा मूल्यांकनका लागि आएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबीच आइतबार भएको छलफलमा मन्दिरको ऐतिहासिक महत्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी आदानप्रदान गरिएको थियो । टोलीले सम्पदाको दिगो संरक्षणका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ र पर्यटक व्यवस्थापन जस्ता विषयमा प्रत्यक्ष अवलोकन गरेको छ । महन्त दासले यस छलफललाई ऐतिहासिक माइलस्टोनको रूपमा वर्णन गर्दै जानकी मन्दिरलाई मिथिला संस्कृतिको जीवित सभ्यताको रूपमा प्रस्तुत गरेका थिए ।
महन्त दासका अनुसार मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु आवश्यक छ र यसका लागि संस्थागत तयारी, अभिलेखीकरण तथा संरक्षणमा प्रतिबद्धता व्यक्त गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै संरचनागत संरक्षण, क्षेत्र व्यवस्थापन, पर्यटक प्रवाह तथा सांस्कृतिक सम्पदाको दिगोपनालाई केन्द्रमा राखेर विभिन्न योजना अघि सारेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि तथा मिथिला संस्कृतिको विश्वव्यापी पहिचान थप सुदृढ हुने विश्वास गरिएको छ । युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने जनाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments