वीरगञ्ज छपकैयाँमा नयाँ थोक तरकारी–फलफूल बजार सञ्चालन
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २२ गते । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको नयाँ थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ। लामो समयदेखि थोक बजारको अभाव झेल्दै आएको वीरगञ्जमा यो बजार सञ्चालनसँगै स्थानीय किसान र उपभोक्ता दुवैलाई सहजता हुने अपेक्षा गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले बजार छपकैयावासीकै नाममा निर्माण गरिएको भन्दै यसको सफाइ, सुरक्षा र व्यवस्थापनमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए। बिपी उद्यानमा रहेको अव्यवस्थित बजारका कारण केही ढिलाइ भए पनि अब सो क्षेत्रका व्यवसायीलाई स्थानान्तरण गर्दै अव्यवस्थित व्यापार हटाउने अभियान अघि बढाइने उनले जानकारी दिए।
पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा बनेका १४ युनिटभित्र २८ सटर सञ्चालनमा आइसकेका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षासहित आधारभूत सुविधा उपलब्ध छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नयाँ बजार सञ्चालनले किसानलाई सडकछेउ वा अस्थायी स्थानमा तरकारी बेच्नुपर्ने बाध्यता हट्नेछ भने उपभोक्ताले व्यवस्थित रूपमा खरिद गर्न सक्नेछन्। महानगरले दोस्रो चरणमा थप ७० लाख लगानी गर्दै युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने तयारी गरेको छ, जसले दीर्घकालीन रूपमा थोक र खुद्रा कारोबारलाई व्यवस्थितरूपमा सञ्चालन गर्न मद्दत गर्नेछ।
कमेन्ट गर्नुहोस्
view comments