मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शपथ लिए, मन्त्रिपरिषद् विस्तार गरियो

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २१ गते ।  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ६ दलको गठबन्धनको समर्थनमा सरकार गठन गरेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले भोजपुरी भाषामा शपथ लिएका हुन्। शपथ समारोहमा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमुख्यमन्त्रीहरू लालबाबु राउत र सरोज कुमार यादव, लोसपा नेता जितेन्द्र सोनललगायत नेताहरू सहभागी थिए।

यादवलाई कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी गरी ७७ जना सांसदले समर्थन जनाएका छन्। उनले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्। शपथसँगै उनले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। आइतबार कांग्रेस, जनमत पार्टी र एकीकृत समाजवादीबाट एक–एक जनालाई क्याबिनेटमा समावेश गर्दै तीन मन्त्री नियुक्त गरिएको हो। जनमतका महेश यादव अर्थमन्त्री बनेका छन् भने कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। तीनै मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभकर्णसमक्ष आजै शपथ ग्रहण गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?