आज शपथ लिँदै मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादव

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २१ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता यादवको शपथ समारोहका लागि मुख्यमन्त्री कार्यालयले सबै तयारी पूरा गरेको जनाएको छ। उनले शपथसँगै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि भइरहेको स्रोतले बताएको छ।

नेकपा एमालेका नेता सरोज कुमार यादवले संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री बनेको केही दिनमै मंसिर १७ गते राजीनामा दिएपछि नयाँ सत्ता गणित तयार भएको हो। यसअघि एमाले नेतृत्वमा भएको नियुक्तिविरुद्ध सातदलीय गठबन्धनले सर्वोच्चमा रिट दायर गरेको थियो, जसमा अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन वा असफल भए धारा १६८(२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। विश्वासको मत लिने अवस्था नबनेपछि सरोज यादवले राजीनामा दिए र त्यसपछि कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीसहित ७७ सांसदको समर्थनसाथ कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?