छ दलको समर्थनमा कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १९ गते ।  नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ दलको समर्थनमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। दाबी पेस गर्ने समयसीमा भित्र कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा नेपालका तर्फबाट ७७ जना प्रदेश सभा सदस्यले उनको पक्षमा समर्थन जनाएका थिए। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई रहेको छ।

मधेस प्रदेशमा पछिल्ला महिनामा राजनीतिक अस्थिरता देखा परेको छ। जेनजी आन्दोलनपछि मात्र ४ पटक मुख्यमन्त्री फेरिइसकेका छन्। सतिशकुमार सिंहको राजीनामापछि जितेन्द्र सोनल मुख्यमन्त्री बने पनि विश्वासको मतका क्रममा आन्तरिक विद्रोह भएपछि उनले पद छाडे। त्यसपछि संविधानको धारा १६८(३) अनुसार एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए तर सर्वोच्च अदालतको आदेश अनुसार विश्वासको मत प्रक्रिया अघि बढाउँदा सांसदहरू बहिर्गमन गरेपछि उनले पनि राजीनामा दिए। यिनै घटनाक्रमपछि संविधानको धारा १६८(२) अन्तर्गत नयाँ बहुमतिको दाबीका आधारमा कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?