जलेश्वर कारागारबाट फरार २७१ कैदी अझै बेपत्ता, खोजीका लागि कार्यदल सक्रिय
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १८ गते । महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये २७१ जना अझै पनि पक्राउ परेका छैनन्। घटनाका बेला ५७६ मध्ये ५७३ जना कैदी फरार भएका थिए, जसमा ४१ जना भारतीय नागरिक थिए। पछिल्लो तथ्यांकअनुसार भारतीयसहित ३०२ जना कैदी पुनः कारागार फर्किएका छन्। कारागार प्रमुख अशोककुमार क्षेत्रीका अनुसार अधिकांश कैदीहरू स्वेच्छाले फर्किएका हुन्, तर चोरी, डाँका, कर्तव्यज्यान र अन्य आपराधिक मुद्दामा तानिएका केही नेपाली तथा ३२ जना भारतीय कैदी अझै बेपत्ता छन्।
फरार कैदीको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलको संयोजकत्वमा सुरक्षा निकाय र सरकारी वकिलसमेत रहेको कार्यदल गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्व शर्माका अनुसार फरार कैदीहरूको पहिचान विवरण सम्बन्धित प्रहरी इकाइमा पठाई खोजी तीव्र बनाइएको छ। साथै, फरार कैदीलाई लुकाउन, आश्रय दिन वा सीमा पार गर्न सहयोग गर्नेहरूमाथि पनि कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ। भारतीय कैदीको खोजी भने भारतीय सुरक्षासँगको समन्वयमा तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments