मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दल सक्रिय, नेतृत्वमा रस्साकस्सी तीव्र
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १८ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार प्रदेशसभा बैठकमै राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दल सक्रिय भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि उत्पन्न राजनीतिक परिस्थितिसँगै जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार सात दलबीच अनौपचारिक छलफल सुरु भएको छ। जसपा नेपाल सबै विकल्पका लागि खुला रहने बताउँदै यादवले संघीयता, प्रदेश सुदृढीकरण र लोकतन्त्र सुदृढिकरण नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।
सात दलभित्र नेतृत्वका दावी पनि खुलेका छन्। सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने दाबी गर्दै संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीको उमेदवार बनाएको छ। लोसपाले पनि पुनः जितेन्द्र सोनलको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेको छ। यस्तै, प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम दुई वा बढी दलको समर्थनसहित बहुमत देखाउन सक्ने सदस्यलाई शुक्रबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार नै प्रदेश प्रमुखलाई राजीनामा बुझाइसकेका छन्।
कमेन्ट गर्नुहोस्
view comments