लहानमा एमाले महाधिवेशन प्रतिनिधिको गाडीमा आगजनी, सुस्त सुरक्षा–उद्घारप्रति स्थानीय आक्रोश

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १६ गते । सिरहाको लहान नगरपालिका–२ भगवानपुरमा एमाले महाधिवेशन प्रतिनिधि जितेन्द्रकुमार यादवको इभी चार्जिङ हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन्। दुई वर्षअघि करिब ६० लाखमा किनिएको उक्त हायस सोमबार राति ११ बजे घरअगाडि पार्क गरिएको अवस्थामा आगजनी गरिएको हो। मंसिर १३ गते एमालेको ११औं महाधिवेशनका लागि सिराहा–१ बाट १,१८८ मतसहित प्रतिनिधि निर्वाचित भएका यादवले घटनाले आफू स्तब्ध लागेको बताए।

आगो लागेको सूचना पाउँदापाउँदै इलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटर दूरीमा भए पनि घटनास्थल पुग्न आधा घण्टा लागेको स्थानीयले बताए। लहान–१९ कटहा चोकसम्म पक्की सडक निर्माणका कारण बाटो अवरुद्ध भएको र लहान नगरपालिका–लहान प्रहरीको वारुण यन्त्र बिग्रिएका कारण गोलबजारबाट दमकल आउन दुई घण्टा लागेको थियो। समयमा दमकल नआउने, वारुण यन्त्र मर्मत नहुने र अर्को खरिद नगर्ने स्थानीय निकायप्रति नागरिकले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

इलाका प्रहरी कार्यालयका डीएसपी कैलाश राईका अनुसार गाडीमा आगजनी गर्ने व्यक्तिको खोजी सुरु भएको छ। घरअगाडि राखिएको व्यक्तिको सवारीमा आगो लगाइएको यो लहानमा पहिलो घटना भएको र यसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?