मन्त्री बनेकी कञ्चन बिच्छाविरुद्ध राप्रपाको कडा कारबाही प्रक्रिया सुरु
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्देशनविपरीत मधेस प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पद खारेज गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ। राप्रपाबाट समानुपातिकमार्फत निर्वाचित एकमात्र प्रदेशसभा सदस्य रहेकी बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन्। पछि मंसिर ८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएको थियो।
पार्टीले मन्त्री पदबाट बाहिरिन निर्देशन दिए पनि बिच्छाले अटेर गरेपछि राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रदेशसभा सदस्य पद खारेजको प्रक्रिया अघि बढाएको हो। यो सम्बन्धी पत्र आइतबार नै प्रदेशसभा सचिवालयमा बुझाइएको छ। उपसभामुख बबिता राउत ईशरले पत्र प्राप्त भएको पुष्टि गर्दै कानुनविज्ञसँग छलफलपछि आवश्यक सूचना प्रकाशन गरिने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments