कल्याणपुरका पूर्व मेयर रामपुकार साहको घुस मुद्दा फेरि स्थगित

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १५ गते । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साहविरुद्ध दायर घुस मुद्दाको पेसी फेरि स्थगित भएको छ। सोमबार काठमाडौंस्थित विशेष अदालतको इजलास नम्बर २ मा सुनुवाइ तोकिएको थियो। तर प्रतिवादीका निजी वकिल तथा सरकारी वकिल दुवैतर्फबाटै माग परेपछि पेसी स्थगित गरिएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए। विशेष सरकारी वकिलको कार्यालयका अनुसार ‘प्राविधिक कारण’ ले गर्दा पेसी सारिएको हो। यसअघि मंसिर ३ गते पनि प्रतिवादी पक्षकै अनुरोधमा पेसी सारिएको थियो।

गत असार ३२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई नाला निर्माण योजना सम्पन्न भई भुक्तानी चेक दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयमै रंगेहात पक्राउ गरेको थियो। अनुसन्धानसमेत पूरा भइसकेपछि आयोगले साउन २३ गते भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम साहविरुद्ध बिगो एक लाख रुपैयाँ कायम गरी कैद सजायसहितको मुद्दा दायर गरेको छ। मुद्दासँग सम्बन्धित एक पीडित होस्टाइल भएको र अर्को पीडितलाई प्रलोभन तथा दबाब परेको विषय पनि प्रक्रिया अघि बढ्दै गर्दा बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?