मधेस प्रदेश प्रमुखद्वारा जनकपुरधाममा रामजानकी विवाहपञ्चमी अवसरमा नेपाली सेनाको स्वास्थ्य शिविर उद्घाटन
7 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ८ गते । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाद्वारा आयोजित तीनदिने स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको छ। श्री मध्यपूर्वी पृतना बर्दिवास अन्तर्गतका युनिटहरूको संयोजनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले यस्ता शिविरहरूले जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुग्ने बताउँदै नेपाली सेनाको सकारात्मक योगदानको प्रशंसा गर्नुभयो। मध्यपूर्वी पृतनापति उपरथी कृष्णबहादुर जिसीले विवाहपञ्चमी महोत्सव नेपालकै ठूलो उत्सव भएको उल्लेख गर्दै शिविरमार्फत स्वास्थ्य उपचारसँगै राहत उद्धार र जनचेतना जगाउने क्रियाकलाप सञ्चालन हुने जानकारी दिनुभयो। कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू लखन दास र कञ्चन विच्छा, वृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा अधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, नागरिक समाज र स्थानीयहरूको उपस्थिति रहेको थियो।
श्री विष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज अमगाईका अनुसार तीन दिनसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य उपचारका अलावा नेपाली सेनाको फोटो प्रदर्शनी, राष्ट्रिय सेवा दलसम्बन्धी जानकारी, सेना भर्ना तथा छनोट प्रक्रिया, सर्पदंश उपचारसम्बन्धी प्रदर्शनी राखिएको छ, जसले जनचेतना अभिवृद्धिमा योगदान दिनेछ। यो शिविरले महोत्सवमा आउने लाखौं श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा र जागरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसले नेपाली सेनाको सामाजिक दायित्वलाई उजागर गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments