जनकपुरधाममा आज राम–जानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव हुँदै
8 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ७ गते । त्रेता युगमा भगवान राम र माता सीताको विवाहको स्मृतिमा जनकपुरधाममा मनाइने साताव्यापी विवाहपञ्चमी महोत्सव आज चौथो दिन प्रवेश गरेकाे छ। आइतबार जनकी मन्दिरबाट बाजागाजासहित साधु–सन्त र भक्तजनकाे र्याली राम मन्दिरतर्फ प्रस्थान गर्दै तिलकोत्सव मनाइनेछ। राम मन्दिर परिसरमा स्थानीय महावीर युवा समितिद्वारा तयार पारिएको मञ्चमा हुने कार्यक्रमकाे विशेष आकर्षण ‘सम्धी मिलन’ रहनेछ, जसमा राजा जनककाे भूमिकामा महन्थ राम तपेश्वर दास र राजा दशरथकाे भूमिकामा महन्थ राम गिरी उपस्थित हुनेछन्। कार्यक्रममा प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका नेता, नागरिक समाज, पत्रकार र ठूलो सङ्ख्यामा भक्तजन सहभागी हुने जनाइएको छ।
महोत्सवअन्तर्गत शनिबार धनुष यज्ञ सम्पन्न भएको थियो, जसमा रामकाे प्रतीकका रूपमा रहेका बालकले धनुष भाँच्दा सीताको प्रतीक बालिकाले माला अर्पण गरेकी थिइन्। यसअघि शुक्रबार ‘फुलवारी लिला’ प्रदर्शन गरिएको थियो। महोत्सव अन्तर्गत सोमबार मटकोर तथा मंगलबार राम–सीताको स्वयम्बर र वैवाहिक कार्यक्रम हुनेछ। विवाहपञ्चमीका दिन लाखाैं तीर्थयात्री जनकपुरधाम आउने भएकाले बसोबास र भोजनकाे व्यवस्था विभिन्न संघ–संस्थाले गर्दै आएका छन्। सुरक्षालाई ध्यानमा राखी स्थानीय प्रशासनले आइतबारदेखि बुधबारसम्म सहरमा मासु–मदिरा बिक्रीमा रोक लगाएको र सुरक्षा कडा पारिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments