सर्लाहीमा ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु, चालक फरार

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ५ गते ।  हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा बिहीबार राति ट्याक्टरको ट्रलीले किचेर एक बालकको ज्यान गएको छ। स्थानीय रामप्रवेश रायका ४ वर्षीय छोरा आर्यन राय घरमा पार्किङ गर्दै गरेको ट्याक्टरको ट्रलीमा चढेका थिए, जसक्रममा उनी एक्कासी खसेपछि ट्रलीको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पर्साले जनाएको छ। अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्बरको उक्त ट्याक्टर प्रहरी नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेका छन्। सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले फरार चालकको खोजी तीव्र पारिएको बताएका छन्। घटनाले स्थानीयमा शोक र आक्रोश फैलिएकाले तनाव हुन सक्ने आशंकामा प्रहरी सतर्क रहेको छ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। दुर्घटनापछि स्थानीय स्तरमा तनावको स्थिति उत्पन्न हुन सक्ने भएकाले पर्सा, नारायणपुर, सोकनाह, नोकेल्वा र सङ्ग्रापुर प्रहरी चौकीसहित जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट थप सुरक्षा बल परिचालन गरिएको डिएसपी राईले जानकारी दिए। यो घटनाले ग्रामीण क्षेत्रमा सवारी साधनको सुरक्षित पार्किङ र बालबालिकाको हेरचाहमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता उजागर गरेको छ, जसले स्थानीय प्रशासनलाई पनि चुनौती थपेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?