सीताराम विवाह पञ्चमी: जनकपुरधाममा तयारी धमाधम, आज नगरदर्शन

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ४ गते । जनकपुरधाममा हरेक वर्ष भव्य रूपमा आयोजना हुने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेसँगै सहर धार्मिक उमङ्गले भरिएको छ। बिहीबारदेखि सुरु हुने नगरदर्शनसहित सप्ताहव्यापी कार्यक्रमलाई लक्षित गर्दै जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा चलिरहेका छन्। गल्ली–टोलदेखि मठमन्दिरसम्म विद्युत् बत्ती सजावट सुरु भएको छ। तर, यस वर्ष कुनै तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको भनाइ छ — विगतमा आर्थिक तथा व्यवस्थापकीय साथ पाइँदै आएकोमा यसपटक आयोजकहरू एक्लै अघि बढ्नुपरेको हो।

भारतका अयोध्या, ऋषिकेश, हरिद्वारलगायत विभिन्न धार्मिक केन्द्रहरूबाट ठूलो संख्यामा साधु–सन्तको आगमन हुने जानकारी मन्दिर व्यवस्थापनले दिएको छ। मिथिलाञ्चलको सांस्कृतिक पहिचान बनेको यो महोत्सव नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक नाता मजबुत गर्ने मुख्य माध्यमसमेत रहँदै आएको छ। यसपटक पनि ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर एवं शुभविवाह, र १० गते रामकलेवा विधिसहित महोत्सव समापन हुनेछ। लाखौँ भक्तजनको भीड अनुमान गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सुरक्षा तयारी कडा पारिएको, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पर्याप्त संख्यामा परिचालन गरिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?