सिमरा विमानस्थल क्षेत्रमा जेन–जी युवाहरूको प्रदर्शनका कारण कर्फ्यू आदेश जारी
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ३ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी युवाहरूको प्रदर्शन र राजनीतिक समूहहरूबीचको झडपका कारण सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम आज (२०८२।०८।०३) दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म गण्डक नहरदेखि पथलैया सडक खण्डको राजमार्ग दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा कर्फ्यू लगाएका छन्। यो आदेशअन्तर्गत कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न नपाइने र आवतजावतमा प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूलाई भने सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। नेकपा एमाले नेता महेश बस्नेतको कार्यक्रमलाई लक्षित गर्दै जेन–जी युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रशासनले परिस्थिति थप बिग्रन नदिन यो कदम चालेको हो भने उल्लङ्घनकर्तामाथि कारबाही हुने चेतावनी दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments