बागमतीमा कारको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

12 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ३ गते । सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। बागमती नगरपालिका–४, प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटी मङ्गलबार राति बालाचतुर्दशी मेला हेरेर घर फर्कँदै गर्दा नम्बर नखुलेको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पतालसम्म पुर्याइएको भए पनि बुधबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

ठक्कर दिएर फरार भएको कारले त्यही क्रममा बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ। हरिवन इलाका प्रहरी कार्यालयका एसपीओ दीपेन्द्र मल्लका अनुसार दुर्घटनामा संलग्न कारको पहिचान भइसकेको र चालकको खोजी तीव्र पारिएको छ। मानवीय क्षति भएको गम्भीर दुर्घटना भएकाले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का स्वयं बुधबार बिहान घटनास्थल बागमती पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?