जनकपुरमा एमाले र ७ दलको छुट्टाछुट्टै धर्ना, मधेश सरकार विवाद उत्कर्षमा
13 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न दिनुपर्ने माग गर्दै नेकपा एमालेले मंगलबारदेखि जनकपुरमा धर्ना सुरु गरेको छ। जनक मन्दिर परिसरमा एमालेका नेता–कार्यकर्ताहरू “संविधानको रक्षा गरौं, मुख्यमन्त्री यादवलाई काम गर्न देऊ” भन्ने नारा लगाउँदै धर्नामा बसेका छन्। यता, नेपाली कांग्रेससहित ७ दलले पनि नवौं दिन मंगलबार मधेश भवनको मुख्य ढोकामै धर्ना जारी राखेका छन्। उनीहरूले एमाले नेतृत्वको सरकार असंवैधानिक भएको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूल व्यवहार नगरेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका छन्।
मधेश प्रदेश सरकार गठनको वैधतामाथि प्रश्न उठाउँदै कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज (मंगलबार) न्यायाधीश हरिप्रसाद सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ। यसअघि सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। दुवै पक्षका छुट्टाछुट्टै धर्ना र सर्वोच्चमा जारी मुद्दाले मधेश प्रदेशको राजनीतिक संकट थप जटिल बन्दै गएको छ।
कमेन्ट गर्नुहोस्
view comments