मधेशमा नयाँ शासन विकल्पको माग, युवाहरूबाट प्रदेश प्रमुखलाई ज्ञापन
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ३० गते । जनकपुरधाममा एक समूह युवाले मधेश प्रदेशसभा तत्काल विघटन गरी नागरिक सरकार गठन गर्नुपर्ने मागसहित प्रदेश प्रमुख कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। युवा अगुवा सरोज मिश्रको नेतृत्वमा गएको टोलीले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णमार्फत राष्ट्रपति कार्यालयलाई बोधार्थ गर्दै ज्ञापन बुझाउँदै मधेश प्रदेशमा राजनीतिक दलहरूको औचित्य समाप्त भइसकेको दाबी गरे । ज्ञापनमा संविधानको धारा २३२(३) अनुसार प्रदेशसभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्नुपर्ने उल्लेख छ। युवाहरूका अनुसार हालको राजनीतिक अस्तव्यस्तता, भ्रष्टाचार र नेताहरूबीचको लुछाचुडीका कारण प्रदेशका मन्त्रालय तथा कार्यालय पूर्ण रूपमा प्रभावित भएको छ।
उनहरूले मधेशमा जन्मिएको संघीयता मधेसी समुदायको दशकौँको सङ्घर्ष र बलिदानको उपलब्धि भएको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वले यस उपलब्धिलाई कमजोर पारेको आरोप लगाए। जेजेड पुस्ताद्वारा भदौ २३–२४ मा भएको आन्दोलनपछि प्रदेशमा शान्ति–सुशासन कमजोर भइरहेको बताउँदै उनीहरूले कम्तीमा छ महिनाका लागि प्रदेशसभा निलम्बन वा विघटन गरी स्वतन्त्र नागरिकस्तरबाट ‘नागरिक सरकार’ गठन गर्न माग गरे। युवागटले संघीयता र स्वायत्त शासनको संरक्षणका लागि हस्तक्षेप आवश्यक भएको भन्दै राष्ट्रपतिलाई प्रदेश प्रमुखमार्फत आफ्नो निवेदन पठाइएको स्पष्ट पारे।
कमेन्ट गर्नुहोस्
view comments