संवादमै समाधान खोज्न मुख्यमन्त्री सरोज यादवको अपिल, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम घोषणा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। जारी आन्दोलनका बीच उनले संवाद र सहकार्यलाई नै समस्याको एकमात्र समाधान बताउँदै आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरे। उनका अनुसार “सडक संघर्षले समाधान आउँदैन, मिलेर बसौँ र समाधान खोजौँ।”

मुख्यमन्त्री यादवले मधेशमा राजनीतिक तनाव बढिरहेको अवस्थामा कोशी प्रदेशको उदाहरण प्रस्तुत गर्दै त्यहाँ दलहरू सडक संघर्षमा नउत्रिएको उल्लेख गरे। उनले मधेशमा पनि संयमता र परिपक्वता आवश्यक रहेको बताए। साथै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई पार्टी निर्णयअनुसार जिम्मेवार व्यवहार देखाउन अनुरोध गरे।

सम्बोधनको दौरान मुख्यमन्त्री यादवले भारतीय दूतावासको हस्तक्षेपको आरोप पनि खुलेर लगाए। जेनजी आन्दोलनपछि संघ र प्रदेश सरकार गठन तथा मन्त्री चयनका क्रममा भारतीय दूतावासको चासो देखिएको उनको दाबी छ। उनले आफू र मन्त्रीहरू सुरक्षा जोखिममा रहेको उल्लेख गर्दै प्रदेशमा शान्ति–सुरक्षाको चुनौती गम्भीर रूपमा बढेको बताए।

यादवले अन्त्यमा ‘जनतासँग मुख्यमन्त्री’ नामक नयाँ जनसुनुवाइ कार्यक्रम घोषणा गर्दै अबदेखि हरेक बिहान ७:१५ देखि ८ बजे आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइने जानकारी दिए। उनका अनुसार यस कार्यक्रममार्फत प्रदेशका समस्या बुझ्ने र नागरिकका सुझावलाई सरकारी काममा समावेश गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?