मधेस प्रदेश खेलकुद परिषद्को एक वर्ष पूरा, जनकपुरधाममा प्रभातफेरी सहित उत्सव मनाइयो

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २७ गते । मधेस प्रदेश खेलकुद परिषद्ले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा बिहीबार जनकपुरधाममा प्रभातफेरीको आयोजना गरेको छ।जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको प्रभातफेरी कदम चोक, जनक चोक हुँदै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्काका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।

परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुका अनुसार मधेसका प्रत्येक नागरिकलाई खेलकुदसँग जोड्ने उद्देश्यका साथ परिषद्ले गत एक वर्षमा विविध प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उनले आगामी दिनमा खेलाडीहरूको व्यक्तित्व विकास, पारिश्रमिक र भत्ता व्यवस्थापन, साथै प्रतियोगिता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने योजनाबारे जानकारी दिए।

सदस्य–सचिव कानुले खेलकुदले समाजलाई सभ्य र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रदेश सरकारले यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै, परिषद्को नाममा बैंक खाता सञ्चालनमा नआएकाले कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?