जनकपुरधाममा मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप — कैयौं घाइते
19 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २६ गते । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिको विरोधमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। भिडन्तमा कैयौं व्यक्ति घाइते भएका छन्।
जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवका अनुसार घाइतेमध्ये ज्ञानेन्द्र झा, रामविनोद चौधरी र विरेन्द्र यादव गम्भीर घाइते भएका छन्। साथै, घटनाको क्रममा नागरिक दैनिकका पत्रकार सुरेन्द्र यादव पनि घाइते भएका छन्। सबै घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको छ।
घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनार) र जसपा नेपालका सचेतक यादवले शान्तिपूर्ण धर्नामा रहेका नेता–कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्।
तर प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको स्पष्टिकरण दिएका छन्। प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments