दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीको समवेदना : ‘नेपाल भारतको साथमा छ’

5 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक २५ गते । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मार्फत शोक प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै कार्कीले लेखेकी छन्, “हिजो साँझ भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। नेपाल भारतको साथमा छ।”

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोटमा परेर हालसम्म आठ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?