सिरहा कारागारमा कैदीमाथि निर्घात कुटपिट, प्रशासनमाथि ढाकछोपको आरोप

20 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २५ गते ।  सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा एक कैदीमाथि प्रहरी र कैदीबीचको मिलेमतोमा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। चोरी मुद्दामा थुनामा रहेका मिर्चैया नगरपालिका–८ का ३० वर्षीय प्रमेश्वर सदामाथि आइतबार राति कुटपिट गरिएको कारागार स्रोतले जनाएको छ।

गम्भीर घाइते सदालाई उपचारका लागि भोलिपल्ट मात्र सिरहास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। अस्पतालको इमर्जेन्सी वार्डमा प्रहरीको कडा निगरानीबीच उनको उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको टाउको, पिठ्युँ, हात, खुट्टा र संवेदनशील अंगमा पाइप तथा भाटा प्रहार गरिएको छ। शरीरभर निलडाम देखिएको छ।

अस्पतालका एक चिकित्सकले अवस्था गम्भीर भएपछि मात्र उनलाई अस्पताल ल्याइएको बताए। “कारागारमा घटना लुकाउने प्रवृत्ति पुरानै हो, यसपटक पनि त्यही भएको देखिन्छ,” उनले भने।

तर, घटना सार्वजनिक भएपछि पनि कारागार प्रशासनले ढाकछोप गर्ने प्रयास गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले “कारागारका आन्तरिक विषयमा प्रहरीलाई जानकारी नहुने” भन्दै पन्छिने प्रतिक्रिया दिएका छन्।

जेलर सुबोध महतोले सुरुमा घटना नबोल्ने अडान लिँदै “सामान्य घटना मात्रै भएको” दाबी गरेका छन्। उनले भने, “मिडियामा गएपछि ठूलो इस्यु बन्छ, त्यसैले बाहिर नल्याइदिए राम्रो हुन्थ्यो।” कुटपिट किन र कसले गरेको भन्ने विषयमा भने उनले केही खुलाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?