संसद् पुनर्स्थापनाले संकट समाधान गर्दैन : विमलेन्द्र निधि
6 दिन पहिले प्रकाशित
काठमाडौँ , कार्तिक २४ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाले वर्तमान राजनीतिक संकटको निकास नदिने बताएका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निधिले निर्वाचनमार्फत मात्रै समाधान सम्भव भएको भन्दै फागुन २१ का लागि निर्धारित निर्वाचनमा भाग लिने निर्णय गर्नुपर्नेमा जोड दिए। “विघटित संसद् पुनर्स्थापना भए पनि अङ्क गणितले फेरि गठबन्धनकै सृजना हुन्छ, जसले देशमा राजनीतिक दुर्घटना रोक्न सकेन,” उनले भने, “त्यस्तो गठबन्धनको सरकार निर्माण गर्ने संसद्ले कुनै समाधान दिँदैन।” निधिले कांग्रेसले निर्वाचन केन्द्रित रणनीति अपनाउनुपर्ने आवश्यकता औंल्याए।
निधिले संसद् पुनर्स्थापनाका लागि सञ्चालित हस्ताक्षर अभियानलाई अपरिपक्व र अदूरदर्शी ठानेका छन्। “कांग्रेसभित्र र बाहिर हस्ताक्षर अभियान चलाइएको सुनेको छ, यो गलत काममा कोही लाग्नुहुँदैन,” उनले भने। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा शनिबार साँझबाट सुरु भएको यो अभियानलाई संस्थापन समूहकै निधिले विरोध गरेका छन्। डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पहिल्यै विरोध जनाइसकेका छन्। यसले पार्टीभित्रको धारात्मक द्वन्द्वलाई थप उजागर गरेको छ, जसबाट कांग्रेसको एकतामा प्रश्न उठेको छ।
कमेन्ट गर्नुहोस्
view comments