रातारात होटलबाट मुख्यमन्त्री नियुक्ति: एमालेका सरोज यादव बने मधेश प्रदेशका नयाँ मुख्यमन्त्री

21 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २४ गते ।  संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान ५ बजेर २० मिनेटमा महोत्तरी बर्दिबास–३ कालापानीस्थित पानस कटेजमा यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी हुन्। उनीसँगै एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कञ्चन बिच्छाले विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या बताउँदै आइतबार राति जनकपुरबाट काठमाडौँ प्रस्थान गरेको बताइए पनि बिचमै बर्दिबासमा रोकिएर यादवलाई मुख्यमन्त्री नियुक्ति र शपथ गराएकी हुन्।

यस घटनापछि मधेश प्रदेशको राजनीति फेरि तातिएको छ। पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै भण्डारीले “स्वास्थ्य उपचारको नाममा जनकपुरबाट भागेर कटेजमा संविधानको मर्मविपरीत खेल” खेलेको आरोप लगाएका छन्।

प्रदेश प्रमुख भण्डारीमाथि सात दलले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान नगरी, एमालेलाई धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध जनाएका छन्। जनकपुरमा भइरहेको प्रदर्शनलाई उद्धृत गर्दै नयाँ मुख्यमन्त्री यादवले भने, “जनकपुरमा स्थिति असहज भएकाले शपथ बाहिर गर्नुपरेको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?