सोनलको राजीनामापछि मधेसमा सत्ता समीकरण तातियो, नयाँ सरकार गठनमा अन्यौल
22 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलको राजीनामापछि प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूको तीव्र दौडधुप सुरु भएको छ। मुख्यमन्त्री सोनलले शनिबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेशमा संवैधानिक अन्यौलता देखिएको हो।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को कुन उपधाराअनुसार नयाँ सरकार गठन गर्ने भन्ने विषयमा अस्पष्टता रहेको बताउँदै अहिलेसम्म आह्वान गर्न सकेकी छैनन्। यही कारण उनका कार्यालयमा राजनीतिक दलका नेताहरूको ओइरो लागेको छ। सभामुख रामचन्द्र मण्डल, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायतले प्रदेश प्रमुखसँग छुट्टाछुट्टै भेट गरी सरकार गठनबारे परामर्श गरेका छन् भने पूर्वमुख्यमन्त्री सोनल पनि छलफलमा व्यस्त छन्।
सोनल पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर विश्वासको मत लिने सम्भावना नदेखिएपछि उनले राजीनामा दिएका हुन्। अब संविधानको धारा १६८(२) वा १६८(३) अनुसार सरकार गठन हुनेमा अन्यौलता छ। धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री बनाउन सकिनेछ भने धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने व्यवस्था छ।
मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने नेपाली कांग्रेस दोस्रो, जसपा नेपाल तेस्रो र जनमत पार्टी चौथो स्थानमा छन्। सोनलको राजीनामापछि मधेसमा नयाँ सत्ता समीकरण बन्ने सम्भावना बलियो बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments