ट्र्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

24 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २१ गते ।  सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुरमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। सलेमपुरबाट बरहथवातर्फ जाँदै गरेको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्, जसको निधार, कुहिना र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनापछि ट्र्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएका छन् भने ट्र्याक्टर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?