भाषालाई जनजीविकासँग जोड्नुपर्छ : मुख्यमन्त्री सोनल
24 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २१ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले भाषा, संस्कृति र सभ्यताको दिगो संरक्षणका लागि तिनलाई जनजीविकासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। नेपाल इङ्लिश ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा)द्वारा शुक्रबार जनकपुरधाममा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका थुप्रै भाषा जीवनशैलीसँग नजोडिएका कारण विलुप्त भएको उल्लेख गरे। मुख्यमन्त्री सोनलले भने, “हाम्रा परम्परागत भाषा र संस्कृति जनजीविकासँग जोडिएनन् भने तिनको अस्तित्व जोगाउन कठिन हुन्छ।”
उनले अङ्ग्रेजी भाषा विश्वभर प्रभावकारी सञ्चारको माध्यम बनिसकेको स्वीकार गर्दै विद्यार्थीहरूले इङ्लिशसँगै आफ्ना मौलिक भाषा, संस्कृति र परम्पराको ज्ञान पनि समान रूपमा विकास गर्नुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी शिक्षणको अवस्था सन्तोषजनक नरहेको भन्दै मुख्यमन्त्री सोनलले त्यस सुधारका लागि प्रभावकारी नीति र कार्ययोजना आवश्यक रहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments