कमला नदीमा आज परम्परागत ‘भूत मेला’ : लाखौँ श्रद्धालुहरूको भीड

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १९ गते । धनुषा र सिराहाको सिमानामा बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत भूत मेला धुमधामका साथ आयोजना गरिएको छ। बिहानैदेखि नदी किनारमा स्नान गर्ने श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। यस मेलालाई कार्तिक पूर्णिमा मेला पनि भनिन्छ, जसमा स्थानीय बासिन्दा मात्र होइन, भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू समेत सहभागी भएका छन्।

हिजो साँझदेखि नै सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटहरूमा धामी–झाँक्री र श्रद्धालुहरूको भीड बढेको थियो। परम्पराअनुसार आजको दिन धामी–झाँक्रीहरूले भूत, बैताल र कुलदेवताहरूको पूजा–आराधना गर्छन्। जनविश्वास अनुसार, कात्तिक पूर्णिमाको दिन कमला नदीमा स्नान गरे भूत–प्रेत, बाधा–बिपत्ति र पापकर्मबाट मुक्ति पाइन्छ भने नयाँ धामी–झाँक्रीले यसै दिन तान्त्रिक सिद्धि प्राप्त गर्ने विश्वास रहँदै आएको छ।

स्नानपछि भक्तजनहरूले नदीको शुद्ध पानी घरमा लगेर पूजा गर्ने चलन छ। यस वर्ष पनि ट्याक्टर, बस र जीपमार्फत हजारौं श्रद्धालुहरू मेलामा सहभागी भएका छन्, जसले सम्पूर्ण क्षेत्रलाई धार्मिक उल्लास र आस्थाको वातावरणमा रंगिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?