अमित शाहको घोषणा : सीतामढी–अयोध्या ‘वन्दे भारत’ चलाउने, किसान सम्मान निधि ९ हजार पुर्याउने
1 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १८ गते । भारतका केन्द्रीय गृहमन्त्री र भाजपा वरिष्ठ नेता अमित शाहले सोमबार बिहारको बेलसण्डमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै विपक्षी गठबन्धनमाथि कडा प्रहार गरेका छन्। उनले भने, “अब बिहारमा ‘जंगलराज’ इतिहास भइसकेको छ, एनडीए सरकारको पालामा राज्य विकास, पूर्वाधार र नवप्रवर्तनको बाटोमा अघि बढिरहेको छ।”
शाहले सीतामढीका जनतालाई धार्मिक र विकाससम्बन्धी दुई ठूला वाचा गरे। उनका अनुसार, “जस दिन सीतामढीमा सीता माताको मन्दिरमा प्राण प्रतिष्ठा हुनेछ, त्यसै दिन सीतामढी–अयोध्या ‘वन्दे भारत’ रेलसेवा सञ्चालन गरिनेछ।” उनले जोड दिए, “अयोध्या आउने हर व्यक्ति सीतामढी पनि आउनेछ, जसले बिहारको धार्मिक पर्यटनमा नयाँ उचाइ ल्याउनेछ।”
विपक्षी ‘महाठगबन्धन’माथि आक्रमण गर्दै शाहले भने, “तिनीहरूमा न नेता छ, न नीति। को को सँग गठबन्धन छ, तिनीहरू आफैंलाई थाहा छैन। तर एनडीए पाँच पाण्डवझैं एकजुट भएर बिहारका सबै २४३ सिटमा चुनाव लडिरहेको छ।”
शाहले कांग्रेस नेता राहुल गान्धीमाथि ‘छठी मइया’को अपमान गरेको आरोप लगाउँदै भने, “राहुल बाबुले यसपालि छठी मइयाको अपमान गरेका छन् — सीतामढीका जनताले यसलाई सम्झनुपर्छ।” उनले दाबी गरे, “जब जब विपक्षले मोदीजीमाथि अपमान गरेको छ, तब तब उनीहरू पराजित भएका छन्।”
गृहमन्त्री शाहले किसानका लागि पनि ठूला घोषणा गरे — “प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत किसानलाई वार्षिक ६ हजारको सट्टा ९ हजार रुपैयाँ दिइनेछ।” साथै, उनले पटना, दरभंगा, पूर्णिया र भागलपुरका विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने वाचा गरे।
उनका अनुसार, “कांग्रेसको १० वर्षे शासनमा बिहारलाई २.८० लाख करोड रुपैयाँ मात्रै दिइयो, तर मोदी सरकारले १० वर्षमा १८.७० लाख करोड रुपैयाँ विनियोजन गरेको छ।”
कमेन्ट गर्नुहोस्
view comments