महोत्तरीमा एमालेको सदस्यता ३३ हजार नाघ्यो, भोटभन्दा बढी सदस्य देखिएपछि आन्तरिक प्रतिस्पर्धा चर्कियो
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरी जिल्लामा नेकपा (एमाले)का पार्टी सदस्यहरूको संख्या तीव्र गतिमा बढ्दै ३३ हजार २८७ पुगेको छ। एमालेले दोस्रो विधान महाधिवेशनका लागि प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार, महोत्तरीमा पार्टी सदस्यता गत निर्वाचनमा प्राप्त मतसंख्याभन्दा पनि बढी पुगेको देखिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले महोत्तरीमा समानुपातिकतर्फ ३२ हजार ३४७ मत मात्रै प्राप्त गरेको थियो।
पार्टी भित्रका गुटगत प्रतिस्पर्धाका कारण मधेस प्रदेशमा सदस्यता असामान्य रूपमा बढेको एमाले नेताहरूको भनाइ छ। अहिले मधेसमा मात्र एमालेका सदस्य संख्या १ लाख ५६ हजार ४१ पुगेका छन्। धनुषामा सबैभन्दा बढी ४८ हजार ६६६, त्यसपछि महोत्तरीमा ३३ हजार २८७, पर्सामा १८ हजार १४९ र सिराहामा १४ हजार ३८१ जना सदस्य रहेका छन्। मंसिर २७ देखि २९ गतेसम्म हुने ११औं महाधिवेशनमा यो आन्तरिक सदस्यता प्रतिस्पर्धाको प्रत्यक्ष असर देखिने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments