विजयपुरमा चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई पक्राउ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) रहेका छन्। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका मोटरसाइकलमा सवार थिए र स्थानीयहरूसँग सवारी बिक्रीबारे कुरा गर्दै थिए। शंका लागेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि टोलीले विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै उनीहरूलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?