तीन वर्षको तलब नपाएपछि कटहरियाका कर्मचारीको आक्रोश, नगर र वडा कार्यालयमा सामूहिक तालाबन्दी
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १७ गते । रौतहटको कटहरिया नगरपालिकामा कार्यरत दैनिक ज्यालादारीका कर्मचारीले तीन वर्षदेखि तलब नपाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन्। पाँच दिनदेखि निरन्तर तालाबन्दी हुँदा नगरपालिकासँगै सबै वडा कार्यालयका सेवा ठप्प बनेका छन्। झन्डै १७० जना कर्मचारीले कात्तिक १२ गतेदेखि तालाबन्दी सुरु गरेका हुन्। लामो समयदेखि तलब नपाएको र चाडपर्वमा समेत तलब नपाउँदा आक्रोशित बनेका कर्मचारीले समस्या समाधान नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले तलब नपाउने समस्या समाधानका लागि कागजी प्रक्रिया अघि बढाएको बताए पनि, प्राविधिक कारणले कार्यान्वयनमा ढिलाइ भएको बताएका छन्। हाल उनी लामो बिदा लिएर काठमाडौँ रहेका छन्। यसबीच नगर प्रमुख अजय प्रकाश जयसवालले कर्मचारीको माग जायज रहेको भन्दै समस्या समाधानका लागि पहल भइरहेको बताए। कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने कर्मचारीले माग पूरा नभएसम्म ताला नखुल्ने स्पष्ट गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments