धनुषामा दुःखद दुर्घटना : एउटै परिवारका तीन जनासहित चार जनाको मृत्यु

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १६ गते । धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस र अटोबीच भएको भीषण दुर्घटनामा एउटै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ। शनिबार साँझ करिब ७ बजे विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा अटोमा सवार गणेशमानचारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उनकी श्रीमती ३२ वर्षीया निशा मगर, सोही ठाउँका ठुला मगर र अटो चालक ४० वर्षीय डम्बर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठुला मगर र निशाको घटनास्थलमै मृत्यु भएको थियो भने रमेश र अटो चालक राईको उपचारको क्रममा जनकपुर न्यूरो अस्पतालमा मृत्यु भएको हो।

मृतक रमेश र निशाका १४ वर्षीया छोरी शितल मगर र ९ वर्षीय छोरा रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस चालक लखिराम दनुवार थारुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। मृतकहरूको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?