जनकपुरमा विवाहपञ्चमी महोत्सवको तयारी औपचारिक सुरु : भव्य र व्यवस्थित बनाउने सर्वपक्षीय निर्णय

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १४ गते । प्रत्येक वर्ष भव्य रूपमा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी बिहीबार जानकी मन्दिर परिसरमा सम्पन्न सर्वपक्षीय बैठकले औपचारिक रूपमा सुरु गरेको छ। बैठकले यस वर्षको महोत्सवलाई अझ भव्य, व्यवस्थित र सभ्य बनाउने निर्णय गर्दै शान्ति सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमी गेट–पण्डाल, यातायात, ट्राफिक र स्वास्थ्य उपसमिति गठन गरेको छ। जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले मङ्सिर ९ गते मनाइने विवाहपञ्चमीमा देश–विदेशबाट हजारौं श्रद्धालु आउने भएकाले सरसफाइ र आतिथ्य सत्कारमा विशेष ध्यान दिन आग्रह गरे। महन्थ रामरोशन दासले पनि जनकपुरवासीलाई सहयोग र योगदानका लागि अनुरोध गर्दै महोत्सवलाई सांस्कृतिक धरोहरको रूपमा उजागर गर्नुपर्ने बताए।

बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतलप्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाही, नेपाल विद्युत् प्राधिकरणका प्रमुख सुनिल कुमार महतो, एनप्याब्सनका अध्यक्ष दीपक कुमार ठाकुर र गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ लगायत सहभागी थिए। महोत्सवको कार्यक्रमअनुसार मङ्सिर ४ गते नगरदर्शन, ५ गते फूलबारी लीला, ६ गते धनुषयज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते सिताराम स्वयंवर तथा विवाह महोत्सव र १० गते रामकलेवासँगै औपचारिक समापन गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?