प्रतिकूल मौसमले देशभर हवाई उडान अवरुद्ध, काठमाडौंसहितका विमानस्थलमा अवतरणमा समस्या

2 दिन पहिले प्रकाशित

काठमाडौं, कार्तिक १३ गते । देशभरको मौसम बिग्रँदै गएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दृश्यता न्यून र ‘इनरुट वेदर’ बिग्रिएका कारण मंगलबार बिहानदेखि नै उडान र अवतरणमा समस्या आएको हो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हाल दृश्यता (भिजिबिलिटी) करिब २ हजार ५०० मिटर मात्र रहेको छ। अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान नयाँदिल्ली डाइभर्ट गरिएको छ भने इण्डिगो एयरको विमान पनि नयाँदिल्ली, र एयर इण्डियाको विमान लखनऊ मोडिएको छ।

आन्तरिकतर्फ श्री एयरलाइन्सका दुई उडानहरू विराटनगर र भैरहवा फिर्ता डाइभर्ट भएका छन्। त्यस्तै भरतपुर र तुम्लिङटार विमानस्थलका सबै उडान स्थगित गरिएको छ। पोखरा विमानस्थलमा अवतरण बन्द गरिएको छ भने केवल ‘डिपार्चर’ उडान मात्र सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ।

वातावरणीय खराबीका कारण उडान तालिका अस्तव्यस्त बनेको छ भने हवाई यात्रुहरूलाई पनि लामो प्रतीक्षा र असुविधा व्यहोर्नु परेको छ। मौसम सुधार भएपछि मात्र नियमित उडान सुचारु गरिने विमानस्थल अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?