शक्तिशाली आँधी मेलिसाले क्यारेबियनमा भीषण विनाश : हाइटीमा २५ को ज्यान, जमैका र क्यूबामा लाखौं विस्थापित
2 दिन पहिले प्रकाशित
एजेन्सी, कार्तिक १३ गते । क्यारेबियन क्षेत्रमा मङ्गलबार इतिहासकै सबैभन्दा शक्तिशाली श्रेणी-५ आँधी 'मेलिसा' ले जमैकामा २९८ किलोमिटर प्रतिघण्टाको वेगका साथ प्रवेश गर्दै ठूलो विनाश निम्त्याएको छ। राजधानी किङ्स्टनमा क्षति कम भए पनि देशका ७७ प्रतिशत क्षेत्र बिजुलीविहीन बनेका छन् भने कृषि केन्द्र सेंट एलिजाबेथमा बाढीले चार जनाको ज्यान लिएको छ। लाखौं मानिस प्रभावित बनेका छन् र प्रधानमन्त्री एन्ड्र्यु होलनेसले क्षतिग्रस्त अस्पताल तथा बस्तीहरूको अवलोकन गर्दै राहत केन्द्रहरू सञ्चालनमा राख्ने बताएका छन्—२५ हजारभन्दा बढी व्यक्ति आपतकालीन शिविरमा आश्रय लिएका छन्। बुधबार क्यूबाको दक्षिणपूर्वी सान्तियागो प्रान्तमा १९३ किलोमिटर प्रतिघण्टाको गतिका साथ पुगेको आँधीले २ लाखभन्दा बढीलाई प्रभावित बनाएको छ, तर ७ लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको राष्ट्रपति मिगुएल डियाज–कानेलले जानकारी दिएका छन्।
हाइटीमा प्रत्यक्ष प्रभाव नपरे पनि लगातार वर्षाले बाढी र पहिरो निम्त्याएर राजधानी पोर्ट–ओ–प्रिन्सबाट ६४ किलोमिटर पश्चिम पेटिट–गोभे क्षेत्रमा कम्तीमा २५ जनाको मृत्यु र १२ जना हराइरहेका छन्—१ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने १२ हजार व्यक्ति शिविरमा सारिएका छन्। पहिल्यै आपराधिक हिंसा र विस्थापनका कारण १३ लाखभन्दा बढी संकटमा परेका हाइटीका बासिन्दाहरूको अवस्था झन् कष्टकर बनेको छ। बहामासमा १,५०० भन्दा बढीलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अमेरिकी मौसमविदहरूले मेलिसालाई क्यारेबियनको तेस्रो शक्तिशाली र सबैभन्दा ढिलो गतिमा चल्ने आँधी मानेका छन्, जसको ढिलाइले विनाशलाई व्यापक बनाएको छ। जलवायु विज्ञहरूका अनुसार समुद्र सतहको बढ्दो तापक्रमले आँधीहरू थप शक्तिशाली बन्दैछन् भने क्यारेबियन नेताहरूले प्रदूषणकारी धनी देशहरूलाई 'लस एन्ड ड्यामेज' कोषमा क्षतिपूर्ति बढाउन आह्वान गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments